वीरगंज , कार्तिक २० –
वीरगंज–११ श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अवकाशप्राप्त प्रधानाध्यापक किशोरीलाल गुप्ताले अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले सानै उमेरदेखि विद्यार्थीलाई विभिन्न गतिविधिमा सहभागी गराएकोमा विद्यालयको प्रशंसा गर्नुभयो।
विद्यालयका प्रिन्सिपल उमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले दीपावली र छठ पर्व झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति तथा झाँकी प्रदर्शन गरेका थिए।
कार्यक्रममा विद्यालयका संस्थापक डा. उमेश चौरसियाले आधुनिक शिक्षासँगै विद्यार्थीलाई प्रयोगात्मक सीप र ज्ञान प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।





