जितपुरमा माछा लोड गरिएका दुई पिकअप नियन्त्रणमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक २४ –

बिलबिजक तथा भन्सार कागजातमा कैफियत देखिएपछि बाराको जितपुरबाट प्रहरीले माछा लोड गरिएका दुईवटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ८ बजेर ५ मिनेटमा जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित वीरगंज–पथलैया सडकखण्डमा जाँच गर्ने क्रममा ती गाडी नियन्त्रणमा लिएको हो।

वीरगंजबाट काठमाडौं जाँदै गरेका प्रदेश २–०३–००१ च ३३५८ र मधेश प्रदेश ०४–००१ च ०१७३ नम्बरका पिकअपमा माछा लोड गरिएको पाइएको थियो।

प्रहरीका अनुसार बिलबिजक, भन्सार प्रज्ञापनपत्र र क्वारेन्टाइन प्रमाणपत्र जाँच गर्दा माछाको मूल्याङ्कन, प्रजाति र तौलमा फरक देखिएको थियो। साथै, भन्सार प्रवेश गर्नुअघि नै क्वारेन्टाइन जाँच भएको प्रमाणपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।

दुवै गाडीमा लोड गरिएको माछाको बिलअनुसार प्रतिगाडी ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँका दरले कुल १० लाख ७३ हजार ५ सय रुपैयाँ मूल्य रहेको छ।

नियन्त्रणमा लिइएका दुवै पिकअप र माछासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः